विद्यार्थीकै प्रगतिमा समर्पित शिक्षक पशुपतिलाल कर्णको घर बनाउँदै पूर्व विद्यार्थी / को हुन पशुपतिलाल कर्ण ??

विद्यार्थीकै प्रगतिमा समर्पित शिक्षक पशुपतिलाल कर्णको घर बनाउँदै पूर्व विद्यार्थी / को हुन पशुपतिलाल कर्ण ??

कारी महतो /पिविएम न्यूज –
चितवन, १ साउन । गुरुवर्गप्रति श्रद्धा र आदारभाव घट्दै गइरहेको वर्तमान समयमा पूर्वी चितवनका एक विद्यालयका पूर्व विद्यार्थीहरुले आफूहरुलाई अध्यापन गराएका शिक्षकको लागि आवास गृह बनाउन शुरु गरेका छन् । खैरहनी नगरपालिकाको वडा नं. १ स्थित कंकाली माविका पूर्व विद्यार्थीहरुले अनुमानित २० लाखको लागतमा त्यसै विद्यालयमा ४२ वर्ष अध्यापन गरी निवृत्त भएका शिक्षक पशुपतिलाल कर्णको घर बनाउन लागेका हुन् । जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी प्रमुख आतिथ्यमा आज गुरु आवास गृहको शिलान्यास भएको छ । कंकाली पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडाध्यक्ष भूमिप्रसाद कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ढुंगाना, पूर्व अध्यक्ष शम्भु प्रसाद लामिछाने, पूर्व सहायक प्रधानाध्यापक रमण पाठक, पूर्व शिक्षक श्याम बहादुर ढुंगाना लगायत उल्लेख्य संख्यामा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

शिक्षक पशुपतिलाल कर्ण

शिक्षक पशुपतिलाल कर्ण

शिक्षक पशुपतिलाल कर्णको संक्षिप्त जिवनी-
पशुपतिलाल कर्ण सिरहा जिल्लाको साविक धनगढी गाविस वडा नं. ५ नैनपुर गाउँमा स्थायी घर भई सोहि ठाउँमा पिता अनन्त लाल कर्ण र माता उर्मिला देवीको कोखबाट वि.सं. २००८ पुस १७ गते अर्थात ईश्वी सम्वत् १९५२ जनवरी १ तारिखका दिन यस धर्तीमा पाइला टेक्नु भएको हो । वहाँको जन्म भएको दुईवर्षकै दुधे बालक अवस्थामै आमाको निधन भयो । त्यसपछि वहाँको लालनपालन कान्छी आमा बच्ची देवी कर्णबाट भयो । २०३६ वैशाख २४ गते बुद्धमावती देवी कर्ण मेडमसँग वहाँ बिबाहबन्धनमा बाँधिनु भयो । हाल वहाँको एक छोरा पवित्र कर्ण बन्धु र एक छोरी पूजा कर्ण छन् ।
पशुपति सरले २०२५ सालमा एसएलसी परीक्षा उतीर्ण गर्नुभयो त्यसलगत्तै चितवनको चैनपुरमा वहाँको मामा प्रतापनयन कर्णले सिरहाबाट वि.सं. २०२६ सालमा चितवन ल्याउनु भयो । वि.सं. २०२६ भदौ १२ गते राष्ट्रिय प्राथमिक विद्यालय झुवानीमा अध्यापक पदमा अस्थायी नियुक्ति भई अध्यापन शुरु गर्नु भएको थियो । वि.सं. २०२७ माघ २९ गते झुवानीबाट राष्ट्रिय प्राथमिक विद्यालय बहेरी अर्थात् हालको कंकाली माध्यमिक विद्यालयमा सरुवा हुनुभयोे । वहाँले कंकाली माविमा वि.सं. २०२७ माघदेखि २०२८ मंसिरसम्म ११ महिनाको तलब नलिईकन अनिवार्य प्राथमिक शिक्षा समितिको अधिनमा रही काम गर्नुभयो । करीब एक वर्षसम्म बिना पारिश्रमिक यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउने क्रममा वहाँ वि.सं. २०२८ साल मंसिर २७ गते स्थायी शिक्षक हुनु भई निरन्तर ४२ वर्षसम्म कंकाली माध्यमिक विद्यालयमा अध्यापन गर्नु भयो ।
२०२४ सालमा स्थापना भएको कंकाली माध्यमिक विद्यालय क्रमिक रुपमा कक्षोन्नति हुँदै २०५४ सालदेखि एसएलसीको परीक्षा पनि यहिंबाट दिने अवस्थामा पुगेको छ । पचासौं वसन्त पार गर्दा यहाँबाट हजारौं हजार विद्यार्थीहरुले शिक्षा प्राप्त गरेर आज ती विद्यार्थीहरु स्वदेश तथा विदेशमा संघर्षशील छन् ।
वि.सं. २०२७ फागुन १ देखि २०५५ जेठ २६ गतेसम्म प्रधानाध्यापक भएर विद्यालयलाई प्राथमिक तहदेखि माध्यमिक तहसम्म पु¥याउनका लागि पशुपतिलाल कर्णले अतुलनीय योगदान गर्नु भयो नै त्यसका अलावा वहाँले ४२ वर्ष २ महिनाको अध्यापनकालमा हरेक बिहान बेलुका अभिभावक र विद्यार्थीहरुको घरदैलोमा पुगी विभिन्न राय, सल्लाह लिनेदिने कार्य गर्नुहुन्थ्यो । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक एवम् प्रशासनिक सुधारका लागि दीर्घकालसम्म अविष्मरणीय सेवा गर्दागर्दै वहाँले आफ्नो परिवारको समस्या समेत भुल्नु भयो । वहाँको जीवनसङ्गिनी बुद्धमावती देवी कर्ण मेडम क्यान्सरबाट ग्रसित हुँदा पनि विद्यालयलाई दिने सेवा र समयमा कुनै कटौति गर्नु भएन ।
विद्यालयमा विद्यार्थीहरुलाई पढाउनुको अलावा आफ्नो योग्यता पनि बढाउँदै वहाँले वि.सं. २०३७ सालमा सेमेस्टर प्रणालीको सि.एड. परीक्षा उत्तीर्ण गर्नु भयो । वि.सं. २०४० माघ ११ गते वहाँ आइए स्तरको उच्च प्रावि अर्थात तहमा बढुवा हुनुभयो । वि.सं. २०४४ मंसिर ९ गते बढुवा निम्न माध्यमिक तहको तृतीय श्रेणीमा बढुवा हुनु भयो । २०६२ फागुनमा निम्न माध्यमिक तहको द्वितीय श्रेणीमा समेत बढुवा हुनु भयो ।
नेपाल शिक्षा ऐन तथा नियमावली अनुसार ६० वर्ष उमेर पुगेका शिक्षकलाई अनिवार्य अवकाश दिने प्रावधान अनुसार वहाँ वि.सं. २०६८ असोज २९ देखि शिक्षण पेशाबाट अनिवार्य अवकाश हुनु भयो । तर विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार वि.सं. २०६८ असोज २९ देखि पुनः निजि स्तरमा करारमा स्वयंसेवक नि.मा.वि. पदमा नियुक्त हुनु भई विद्यालयको शिक्षण र प्रशासनिक फाँटमा काम गर्नु भयो । हाल वहाँ यस विद्यालयबाट अवकाश लिनु भएको भएता पनि विद्यालयको प्रशासनिक र अन्य कामकाजमा निरन्तर सम्पर्कमा रही आवश्यक परेको बेलामा विद्यालयमै उपस्थित भई सहयोग उपलब्ध गराईरहनु भएको छ ।
बुद्धमावतीदेवी कर्ण
गुरु पशुपतिलाल कर्ण सरको जिवनसङ्गिनी बुद्धमावती देवी कर्ण निकै संघर्षशील महिला हुनुहुन्छ । पशुपति सरबाट टाढा रहेर पनि वहाँले आफ्ना एक छोरा र एक छोरीको स्नेहपूर्ण लालनपालन गरी हुर्काउनुका साथै शिक्षादीक्षा दिलाउनु भयो । पशुपति सरले विदाको समयमा पनि विद्यालयकै कामकाजमा रातदिन खटिरहनु भएको अवस्थामा मेडमले पशुपति सरलाई प्रेरणा दिईरहनु भयो । वहाँ भन्नुहुन्छ– “शिक्षक जस्तो पवित्र सेवामा लागेको श्रीमानलाई घरगृहस्थी सम्बन्धि काममा अल्झाउनु हुँदैन भनेर मैले छोराछोरीको पढाईलेखाईदेखि बिहेबारीसम्म गरिदिने जिम्मेवारी पुरा गरें ।”
घरव्यवहार सम्हाल्दा सम्हाल्दै बुद्धमावती मेडमलाई स्तन क्यान्सर भयो । तर पनि मेडमले संघर्ष गर्न हरेस खानु भएन । फलस्वरुप अहिले मेडमले क्यान्सर जस्तो डरलाग्दो रोगलाई जित्न सफल हुनु भएको छ । तथापि मेडमले त्यसको विरुद्ध हालसम्म औषधी सेवन गरिरहनु भएको छ । हरेक ६ महिनामा विपि मेमोरियल क्यान्सर अस्पतालमा नियमित चेकजाँच गरी औषधि सेवन गरिरहनु भएको छ । यति पिडादायी अवस्थामा पनि गुरु पशुपति सरले कहिल्यै पनि कोहिसँग सहयोगको याचना गर्नु भएन बरु निरन्तर शिक्षाको ज्योति छर्न र अज्ञानीलाई ज्ञानी बनाउनमै व्यस्त रहनुभयो । त्यसैले वहाँ गुरु पशुपति सरमै मात्र सिमित नरही संसारकै कल्याणका लागि कहलिएको भगवान पशुपतिनाथ सरहको व्यक्तित्व हुनुहुन्छ । हामी सबैले मेडमको पूर्ण सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं ।
पूर्व विद्यार्थीहरुले गुरु आवास गृह बनाउनुका कारण-
पशुपतिलाल कर्ण सरले कंकाली माध्यमिक विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा प्रशासनिक सुधारका लागि ४२ वर्ष २ महिनासम्म अविष्मरणीय र अतुलनीय योगदान पु¥याउनु भएको छ । वहाँ र वहाँकी श्रीमतिको नाम खैरहनी नगरपालिका वडा नं. १ को मतदाता नामावलीमा सूचिकृत छ । तर वडा नं. १ मा सात धुर घडेरी बाहेक वहाँको केहि छैन । वहाँले ४२ वर्षको अवधिमा बहालमै बसेर सेवा गर्नु भयो । ०४५ सालमा वहाँले बीरगञ्जमा साढे तीन धुर घडेरी किन्नु भएको थियो र त्यो घडेरीमा जस्तापाताको छानो भएको दुईकोठे घर बनाउनु भएको थियो । त्यहि घरमा परिवारलाई राख्नु भएको थियो । २०५५ सालमा कंकाली माविकै गेट अगाडि ७ धुर जग्गा ३५ हजार रुपैयाँमा किन्नु भएको थियो । त्यो घडेरीमा एउटा सानो घर बनाएर दुई बुढाबुढी रहने वहाँको परिकल्पना थियो । तर समय परिस्थितिले साथ दिएन । मेडमको उपचारमा धेरै खर्च भयो । स्कुलको गेट अगाडि एउटा कुटी बनाउने र त्यहिं बसेर विद्यालयलाई हेरेरै मर्ने वहाँको चाहना रहेको कुरा पूर्व विद्यार्थीहरुले सुइको पाए । विद्यालयप्रतिको वहाँको लगाव र स्नेह गरिरहने वहाँको अन्तिम इच्छा रहेछ । वहाँको त्यो अन्तिम इच्छा पुरा गर्नका लागि कंकाली माविका पूर्व विद्यार्थी समाजले एउटा राम्रै खालको घर बनाउने योजना बनाए । साथै उक्त योजना माघ १८ गते विद्यालयको स्वर्ण महोत्सवको दोश्रो दिन गुरु आवास गृह निर्माण गर्ने कार्यक्रम औपचारिक रुपमै घोषणा भयो ।
वहाँ अत्यन्त लगनशील, कर्तव्यनिष्ट, मृदुभाषी, पथप्रदर्शक गुरु हुनुहुन्छ । वहाँले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै वहाँ र वहाँको परिवारको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै पूर्व विद्यार्थीहरुले सम्मान स्वरुप गुरु आवास गृह बनाउन लागीपरेका हुन् ।
गुरु आवासमा निर्माणमा सहयोग
गत माघ १८ गते कंकाली माविको स्वर्ण महोत्सवममा घोषणा गरेको गुरु आवास निर्माण अभियानमा हालसम्म करीब ८ लाख संकलन भएको छ । हाल काठमाडौंमा रहेका पूर्व विद्यार्थी विजय बुर्लाकोटीले गुरु आवास गृह निर्माणका लागि दुई लाख एक हजार, हाल क्यानडामा रहेका पूर्व विद्यार्थी अमित डल्लाकोटीले ५५ हजार ५ सय, पूर्व विद्यार्थी अर्जुन लम्सालले ५५ हजार ५ सय, पूर्व विद्यार्थी अशोक पाठकले ५१ हजार दिने घोषणा भए लगत्तै अर्थिक संकलन अभियान शुरु भएको हो । देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट हालसम्म करिब आठ लाख संकलन भएको कंकाली पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् । मौसमले साथ दिए तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको गुरु आवासका लागि देश विदेशबाट सहयोग संकलन भैरहेको छ ।
अन्तमा,
वहाँको धेरै शिष्यहरु मध्ये म पनि एक शिष्य हुँ । म कक्षा ५ मा पढ्दा पढ्दै बीचैमा स्कुल जान छाडेको थिएँ । थारुको बच्चालाई स्कुल जानभन्दा पनि गोठालो जान निकै रमाईलो हुने भएकोले विद्यालयप्रतिको मेरो कुनै मोह थिएन । तर मैले स्कुल जान छाडेपनि गुरु पशुपति सर मेरो घरमा आई बारम्बार मेरा बुबाआमालाई छोरालाई स्कुल पठाउन आग्रह गर्नुहुन्थ्यो । मलाई जहाँ भेटे पनि स्कुल आउनका लागि प्रेरणा दिनु हुन्थ्यो । वहाँको माया, स्नेहले गर्दा म दोहो¥याएर स्कुल जान थालें । मलाई मेरो गुरुवर्ग र आमाबाबुको आशिर्वाद लाग्न थाल्यो र मलाई अध्ययनप्रति झुकाव बढ्यो । अहिले म आफैं त्यस विद्यालयमा शिक्षण गर्छु र आफ्नो छोरीलाई पनि सोहि स्कुलमा लिएर जानेआउने गर्छु । स्कुलप्रतिको मायामोह जगाउन प्रेरणा दिनुहुने श्रद्धेय गुरु पशुपतिलाल कर्ण सरको लागि गुरु आवास गृह बनाउनका लागि मेरो एक महिनाको तलब गुरु दक्षिणा अर्पण गरेको छु । साथै सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई सक्दो सहयोग गरिदिनका लागि हार्दिक अपिल गर्दछु ।



ट्रेन्डिङ