पूर्वी चितवनको खैरहनीमा २३ करोडको लागतमा दाना उद्योग खुल्यो

पूर्वी चितवनको खैरहनीमा २३ करोडको लागतमा दाना उद्योग खुल्यो

खैरहनी १ साउन ।
पूर्वी चितवनको खैरहनीमा २३ करोडको लागतमा पशुपन्छीजन्य दाना उद्योग संचालनमा आएको छ । खैरहनी नगरपालिकाको वडा नं. ९ बैरेनीमा कैलास एग्रो इन्डष्ट्रिज प्रा.लीले २३ करोडको लागतमा दाना उत्पादन गर्ने उद्योग चालनमा ल्याएको हो ।

उद्योगको आजै एक कार्यक्रमका बीच खैरहनी नगरपालिकाका प्रमृुख लालमणी चौधरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यस्ताखालका उद्योग कलकारखाना स्थापना नभए सम्म मुलुक सम्बृद्ध बन्न नसक्ने बताउनुभयो । कृषिले मात्रै मुलुकलाई सम्बृद्ध बनाउन नसकिने भएकाले देशका हरेक नगरक्षेत्रमा उद्योग कलकारखानाको विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले खैरहनी नगरपालिकाले कृषि सँगै उद्योग कलकारखानालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो । कृषि सँग सम्बन्धित उद्योगहरु सँग नगरपालिका हातेमालो गर्न समेत तयार रहेको स्पष्ट पार्नुभयो । खैरहनी नगरपालिका क्षेत्रमा उद्योग खुल्ने क्रम बढ्दै गएको भन्दै नगर प्रमुख चौधरीले यस्ता खालका उद्योग, कलकारखानालाई स्थापित गराउन नगरले जुनसकुै भुमिका खेल्न पनि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ह्याचरी उद्योग महासंघका अध्यक्ष टिका पोखरेल स्थानीय तहले उद्योग संचालनका लागि अनुकुल वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । उत्पादन सँगै रोजगारी पनि जोडिएकाले यस्ता खालका उद्योग संचालनका नगरपालिकाले वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले मकै उत्पादनमा जोड दिन नगरपालिकालाई सुझाव समेत दिनुभयो । कार्यक्रममा  भेटनरी चिकित्सक अनन्त दाहाल, राष्ट्रिय अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कंडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम कैलास एग्रो इन्डष्ट्रिज प्रा.लीका अध्यक्ष केशव वाग्लेको अध्यक्षतामा आयोजना गरिएको थियो । पोल्ट्री क्षेत्रका ७ जना युवाहरुले लगानी गरेको यो उद्योगले दैनिक २ सय ४० टन दाना उत्पादन गर्न सक्छ । २४ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको उद्योगमा ४० जना कर्मचारी कार्यरत्त छन् ।

((०)))



ट्रेन्डिङ