विषादी फलफुल रोक्न उपभोक्ताहरुलाई फलफुलका विरुवा वितरण

विषादी फलफुल रोक्न उपभोक्ताहरुलाई फलफुलका विरुवा वितरण

पिविएम न्यूज –
कालिका ३० असार । विषादी फलफुल भित्रिन थालेपछि कालिका नगरपालिकाले प्रत्येक घर धुरीलाई फलफुलका विरुवा लगाउन आग्रह गरेको छ । आफ्नै खेतवारीमा फलफुलका विरुवा लगाएर अर्गानिक उत्पादन खान समेत सुझाव दिएको छ । नगरबासीलाई विषादी फलफुलबाट जोगाउन प्रतिधुरी चारवटा फलफुलका विरुवा समेत वितरण गर्न थालेको छ । नगरका प्रत्येक वडा कार्यालय मार्फत फलफुलका विरुवा वितरण गर्ने अभियानमा नगरपालिका छ । यसैबीच कालिका नगरपालिकाको वडा नं. ४ ले एक कार्यक्रमका बीच आज विहान फलफुलका विरुवा वितरण गरेको छ । वडा नं. ४ का प्रत्येक घरधुरीलाई चारवटा आपँका विरुवा वितरण गरिएको हो । वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको विरुवा वितरण कार्यक्रममा नगरपालिकाका कृषि अधिकृत शिवराम भट्टले वडाबासीलाई विरुवा रोप्न सिकाउनुभयो ।  स्थानीय टोल सुधार समिति मार्फत २ हजार फलफुलका विरुवा उपभोक्ताहरुलाई वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले विरुवाले अर्गानिक फलफुल दिने मात्रै नभई नगरको सुन्दरतालाई बलियो बनाउने हुँदा यो अभियानमा सबैलाई लाग्न आग्रह गर्नुभयो । आँपका विरुवाहरु मात्रै नभई सबै खालका विरुवाहरु लगाउन उहाँले वडाबासीलाई सुझाव समेत दिनुभयो ।  यसअघि पनि नगरक्षेत्रका केहि वडाहरुमा विरुवा वितरण भइसकेको छ भने अन्य वडाहरुमा क्रमिक रुपले विरुवा वितरण गर्ने तयारी भइरहेको वडा नं. ५ का वडा अध्यक्ष जेना महतोले जानकारी दिनुभयो ।

((०)))



ट्रेन्डिङ