तराई क्षेत्रमा पानीको बहाव घटेसँगै पीडितले राहतको अनुभुती गर्दै / खानाको अभावले भने भोक भोकै बस्न बाध्य

तराई क्षेत्रमा पानीको बहाव घटेसँगै पीडितले राहतको अनुभुती गर्दै  / खानाको अभावले भने भोक भोकै बस्न बाध्य

चितवन २९ असार । । अविरल वर्षाका कारण तराई–मधेसका विभिन्न जिल्लामा आएको बाढी तथा डुबानबाट पीडित भएकाहरुले पानीको सतह घटेसँगै केही राहत महसुस गर्न थालेका छन् । बाढीका कारण घर आँगनमा जमेको पानीको सतह कम हुन थालेपछि पीडितहरुले राहत महसुस गर्न थालेका हुन् ।  गएरातिदेखि पानी नपरेका कारण पानीको सतह कम हुँदै गइरहेको छ । पानीको सतह कम भए पनि खान, बस्न र लगाउने कपडाको समस्या भएको पीडितहरुले बताएका छन् ।

हालसम्म प्रभावित क्षेत्रमा केन्द्रीय सरकारको कुनै राहत पुगेको छैन । स्थानीय तहका जनप्रतिनिधिले भ्याएसम्म सहयोग गरिरहेको छन् । सिरहाका पत्रकार जिवछ यादवले भने, ‘पीडितको घरसम्म सङ्घीय सरकारको पहुँच नभए पनि स्थानीय सरकारले भ्याएसम्म सहयोग गरिरहेको छ तर त्यो पर्याप्त होइन ।’

स्थानीय सरकारले आफ्नो क्षमताअनुसार कुनै वडा विशेषमा केही राहतको व्यवस्था गरे पनि सबैको पहुँचमा छैन । अहिलेको मुख्य समस्या भनेको खानेकुरा र पानीको हो । त्यसको अभावमा बाढीपीडितहरु झन् पीडित हुँदै गइरहेको उनी बताउँछन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादव आफ्नो क्षेत्र पर्सामा पुगेका छन् । स्थानीय तहबाट राहतको व्यवस्था गरे पनि त्यसले अपुग भइरहेको सांसद यादव बताउँछन् ।

नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि सरकारको तर्फबाट खाद्यान्न र लताकपडा नपुगेको उनले बताए । उनले आफ्नो तर्फबाट पनि अलिअलि सहयोग गरेको तर त्यो पर्याप्त नरहेको बताए ।

बाढीबाट पीडितको सङ्ख्या धेरै छन् तर त्यसको तुलनामा राहत पुगेको छैन । यस पटक अहिलेसम्म सामाजिक सङ्घसंस्थाको पनि राहत लिएको पुगेको छैन । पीडितहरु छिमेकी गाउँकै सहयोगमा बाँचिरहेका छन् ।

जनकपुरका किशोर गुरुस्थानीय तहबाट राहत वितरण भए पनि त्यसले नपुगेको बताउँछन् । ‘आवश्यकता धेरै छन् तर त्योअनुसारको राहत सामग्री छैन’, उनले भने, ‘जनकपुर उपमहानगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको छ तर सबैतिर भ्याउने अवस्था छैन ।’



ट्रेन्डिङ