बाढीले नौं वटा राजमार्ग र ३ वटा पूलमा क्षति / ४० करोड क्षति भएको अनुमान ।

बाढीले नौं वटा राजमार्ग र ३ वटा पूलमा क्षति / ४० करोड क्षति भएको अनुमान ।

काठमाण्डौं २९ असार ।

बिहीबारदेखि परेको वर्षाले नेपालभरका विभिन्न सडक र पुलमा मात्र ४० करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान छ । सडक विभागका अनुसार देशका मुख्य नौ वटा सडक र तीनवटा निर्माणाधीन पुलमा क्षति पुगेको छ ।  बर्दिबासनजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ भने हुलाकी सडकको सप्तरीस्थित निर्माणाधीन सडक पुल भत्किएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार देशका विभिन्न स्थानबाट सडक र पुलमा भएको क्षतिबार जानकारी आइरहेको छ । ‘एक–दुई दिनमै थप जानकारी र क्षतिको विवरण सार्वजनिक गर्न सकिनेछ,’ उनले भने ।

यी सडक सञ्चालनमा आउन थप समय आवश्यक
बेनी–जोमसोम सडकको काभ्रे भिरमामा गएको पहिरोका कारण सडक अवरुद्ध छ । काभ्रे भिरमा चट्टान भएकाले त्यसलाई काटेर सडक तयार गर्न केही दिन लाग्नेछ । ‘करिब आठ मिटर चट्टानलाई काटेपछि मात्र सडक सञ्चालनमा आउनेछ,’ महानिर्देशक शर्माले भने । कुल २० मिटरमध्ये १२ मिटर भने कटिङ भइसकेको छ । यो सडक आइतबारसम्म सञ्चालनमा आउने सम्भावना छ ।

बेँसीसहर–चामे सडक सञ्चालमा आउन कम्तीमा तीन दिन लाग्ने सडक विभागले जानकारी दिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको सडकको छेउमा थुपारिएको माटो बगेर गएपछि समस्या भएको हो । त्यस्तै, हर्कपुर–ओखलढुंगा सडक र  मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गतको खुर्कोट–घुर्मीखण्डलाई सञ्चालनमा ल्याउन न्यूनतम तीन दिन लाग्नेछ । सडक विभागका अनुसार कान्ति राजमार्ग सञ्चालनमा आउन अझै चार दिन लाग्नेछ । यसक सडकका विभिन्न खण्डमा पहिरो गएकाले धेरै समय लाग्ने विभागको अनुमान छ ।

शनिबारदेखि सञ्चालनमा आएका सडक
शुक्रबारदेखि आवतजावत बन्द भएको हेटौँडा कुलेखानी काठमाडौं सडकको देउराली–कुलेखानी खण्ड र त्रिभुवन राजपथ शनिबारदेखि सञ्चालनमा आइसकेका छन् ।

बिपी राजमार्ग एकतर्फी खुल्यो
शुक्रबारदेखि अवरुद्ध बनेको बिपी राजमार्ग शनिबार बेलुकादेखि एकतर्फी खुलेको सडक विभागले जानकारी दिएको छ । बिपी राजमार्गको बर्दिबास–सिन्धुली–खुर्कोट–धुलीखेल ठाउँठाउँमा एकतर्फी खुलेको हो ।

महेन्द्र राजमार्ग डाइभर्सनबाट सञ्चालन
महेन्द्र राजमार्गको बर्दिबासस्थित भप्सीको पुल बाढीले भत्काएपछि राजमार्गमा रोकिएका सवारीसाधन शनिबार दिउँसोदेखि वैकल्पिक सडक बर्दिबास–औरही–गौशाला–माइस्थान हुँदै सञ्चालनमा आएका छन् । शनिबार साँझसम्म खोलामै डाइभर्सन बनाइएर यातायात सञ्चालनमा ल्याएको छ । हेबी ट्रकलाई भने रोकिएको छ । सडक विभागले तत्कालन बेलिब्रिज राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सडक प्रयोगकर्तालाई अनुरोध
सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘विशेष गरी रातिको समयमा यात्रा नगर्न अनुरोध छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने । बन्द नभएका सडकमा पनि पहिरो आउन सक्ने, ढुंगा खस्न सक्ने हुँदा बिहान ५ बजेसम्म यात्रा गर्न  अनुरोध गरेको छ । त्यस्तै, सडक सञ्चालनमा ल्याउनको लागि सामान उठाउने लगाएका काममा स्थानीयले सहयोग गरिदिन र कतै सडक बन्द भएमा तथा सडक विभागको जनशक्ति पुग्न नसकेको अवस्थामा सूचना दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

नयाँ पत्रिकामा खबर ।

बाढीले क्षति पुगेका सडक

  •  त्रिभुवन राजपथको बाघझोरा र सिमभञ्ज्याङ
  •  बिपी राजमार्गको नेपालटार–खुर्कोट
  • मध्यपहाडी (पुष्पलाल) राजमार्गको खुर्कोट–घुर्मी
  • हेटौँडा कुलेखानी काठमाडौं सडकको देउराली–कुलेखानी
  • बेनी–जोमसोम सडकको काभ्रे भिर
  • हर्कपुर–ओखलढुंगा सडक
  • कान्ति राजपथ
  • बेँसीसहर–चामे सडक
  • महेन्द्र राजमार्ग


ट्रेन्डिङ