मेलिना राई : कठोर साधना, कोमल स्वर

मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी ।
यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । त्यही भिडमा थिइन्, चर्चित गायिका मेलिना राई ।
आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा उनको चञ्चलता बढ्यो । ‘सुन न’ बहिनीलाई कोट्याएर भनिन्, ‘मेरो गीत बजिरहेको छ तर, मैले गाएको भनेर यहाँ भएका कसैलाई थाहा छैन है ।’
हो पनि, सिनेमाको पाश्र्व ध्वनी, टेलिभिजन, एमफएममा मात्र भेटिने मेलिनालाई न कसैले चिन्थे, न कसैले बोलाउँथे ।
तर, ‘कम्मरमाथि पटुकी’ को लोकप्रियताले उनी सार्वजनिक भीडबाट अलप भए पनि एकाएक सेलिब्रेटी पो भइन् ।
‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई गतिशील बनाइदियो । कहिले स्टेजमा, कहिले रेकर्डिङमा । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने ।
युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ । सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । गायनका लागि सर्वाधिक खोजिनेमा उनकै नाम आउँछ ।
मेलिना राईको यो सफलताले सबैभन्दा बढी गदगद कसलाई बनाएको होला ? निसन्देह उनका पिता जिवेश राईलाई ।
जिवेश आफैं संगीत प्रशिक्षक हुन् । छोरीहरुलाई आफूले बनाएको ट्र्याकमा डो¥याउने उनको सुषुप्त ईच्छा त्यसैबेला प्रकट भएको हो, जतिबेला उनी दुई छोरीलाई कठोर संगीत साधना दिइरहेका हुन्थे ।
‘दंगल गर्ल’ जस्तै
मेलिना राईको कथा हिन्दी चलचित्र ‘दंगल’का पात्रको जस्तै लाग्न सक्छ । दंगलका पहलमान पात्रले आफ्नो अतृप्त इच्छा दुई छोरीहरुबाट पूरा गराउन कठोर साधना गराउँछन् र आफ्नो जीवनको बाजी जिताउँछन् ।
यतिबेला जिवेश राईले पनि आफ्नो जीवनको बाजी जितेका छन् । छोरीका खातिर उनले जति कठोर संघर्ष गरे, त्यसको नतिजाले आज उनको छाति गर्वले फुलेको छ ।